२३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेकाले अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।
पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन । अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने भन्दै स्वास्थ्यमन्त्री पौडेलले त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको बताए । अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए । क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरुका लागि निःशुल्क गराउने तयारी भइरहेको उनको भनाई छ ।
अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्नेगरी व्यवस्था गरिने बताएका छन् । उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।