|  

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

२४ माघ, काठमाडौं ।  विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमा ३ महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो ।

उनीहरू दुवैको उद्धार भइसकेको र शुक्रबार नेपाल ल्याइने गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले जानकारी दिएका छन्।उनीहरू दुवै जनालाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरूलाई टर्किस्ट एयरलाइन्सको उडानमार्फत् माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौं ल्याइनेछ ।