२४ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।
हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।
प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको अवस्था सामान्य छ ।
विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो ।
सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।