|  

पाथीभरा केबुलकारको विषय जोडेर ग्लोबल बैंकमाथि प्रहार हुनु गलतः राष्ट्र बैंक

२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । 

आज सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन ।  उनले भनेका छन्, ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

अहिले पाथीभरा केबुलकारको विरोधमा रहेको समूहले सामाजिक सञ्जालमार्फत ग्लोबल आईएमई बैंकको खाता बन्द गर्ने, पैसा झिक्न भन्दै अभियान चलाइरहेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानी भएको भन्ने आधारमा बैंकमाथि नै सामाजिक सञ्जालमार्फत अभियान चलाइएको सन्दर्भमा राष्ट्र बैंकबाट यस्तो प्रतिक्रिया आएको हो । ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पनि बैंकप्रति सामाजिक सञ्जालमा भएको आक्रमण गलत भएको बताएका छन् । ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंकमध्ये रहेको भन्दै बैंकप्रति विभिन्न नाममा फैलाइएका अफवाह गलत भएको उनको भनाइ छ ।