|  

पाथीभरा केवलकार विवादबारे चन्द्र ढकालको प्रतिक्रिया-विकासलाई धर्म भन्दा माथि राखेर हेराैँ

२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बृहत सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र  भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न  सरकारसंग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आइटी तथा स्र्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसंग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताए । क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताए ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताए । पाथीभरा केवलकार प्रकरणमा भइरहेका  विरोधका विषयमा बोल्दै उनले विकासलाई  राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा सर्वसाधारणमा आग्रह गरे ।