|  

पुनः हिंसा भड्किएपछि हसिनाले भनिन्ः मेरो पिताको घर भत्काउनेले याद राखून्-इतिहास बदलिन्छ ।’

२४ माघ, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ ।

आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो । हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा घरसँग किन डराएको ? म बंगलादेशको जनताको लागि न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरिनँ ? फेरि यति धेरै अपमान किन ? एउटा घर भत्काउन सकिन्छ तर इतिहास मेट्न सकिन्न । मेरो पिताको घर भत्काउनेले याद राखून्– इतिहास बदलिन्छ ।’

आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो । विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट–जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो । प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।

आन्दोलन चर्किएसँगै ५ अगस्ट २०२४ मा शेख हसिना देश छाडेर भारत गएकी थिइन् । विद्यार्थी आन्दोलनपछि उनको सरकार ढालेर अन्तरिम सरकार बनाइएको थियो।बुधबार शेख हसिनाले बंगलादेश छोडेको ६ महिना पूरा भएको छ । ६ फेब्रुअरी राति ९ बजे हसिनाले आफ्ना समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने कार्यक्रम थियो ।

‘जुलाई क्रान्ति’ को नेतृत्व गरेका विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे बुलडोजर मार्च निकाल्ने घोषणा गरेको थियो ।यसको प्रचार सामाजिक सञ्जालबाटै गरियो । जहाँ शेख हसिनाको पिताको घर भत्काउने योजना सार्वजनिक गरिएको थियो । तर प्रदर्शनकारी ८ बजे नै त्यहाँ पुगे र तोडफोड सुरु गरे ।