|  

केबलकार विवादबारे प्रचण्डको प्रतिक्रिया- सरकार निरङ्कुश सोचमा अघि बढिरहेको छ

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिएको टिप्पणी गरे । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराउँदै कडा कडा मुद्दा लगाइएको भन्दै प्रचण्डले सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? भन्दै प्रश्न गरे ।

पाथीभरा केबलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो हिडेको दाबी गरे । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईँहरूले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरङ्कुश सोच भएको बताए ।