२४ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।
आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे ।
‘अन्तरजातीय विवाहलाई कानूनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ’, गृहमन्त्री लेखकले भने ।
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग आग्रह गरे ।