|  

यो परिवर्तन जन्मिने बेलाको प्रसव पिडा हो : रवि लामिछाने

२४ माघ, काठमाडौं ।  साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ५४ लाख धरौटी जम्मा गरेर रिहा भएका छन् ।

रिहा भएपछि लामिछानेले प्रतिक्रिया दिदै यो परिवर्तन जन्मिने बेलाको प्रसव पिडा भएको टिप्पणी गरेका छन् । चितवनले अघिल्लो चुनावमै परिवर्तनको शुरुवात गरेको हुनाले यो देशव्यापी हुने बताए ।

थुनछेक बहसपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

सरकारी वकिल कार्यालयले हिजो लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो। त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यस बेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको छ ।

३२ जनामध्ये रवि लामिछानेसहित २० जनालाई सहकारी गठीसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । एउटै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिवी) राई र अर्का सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीलाई भने ठगीमा मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध (निवारण) ऐन २०७० दुवै कसुरमा मुद्दा चलाएको छ । प्रहरीले लामिछानेलाई संगठित अपराधमा मुद्दा चलाउने भन्दै जिल्ला अदालतबाट म्याद थपको दाबी गरेको थियो ।

ad