|  

बालयौन दुरूपयोगमा मदन राईलाई साढे २ वर्ष कैद सजाय

२५ माघ, काठमाडौं । बालयौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ।

खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो।

शुक्रबार उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ।

२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।

कृषि विज्ञका रूपमा परिचित मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तरगतको कसुर गरेको आरोप छ।

राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।