|  

भारतको सहयोगमा धादिङको कुरीमा स्वास्थ्यचौकी-वर्थिङ्ग सेन्टर भवन बन्दै

२५ माघ, काठमाडौं ।  भारत सरकारको आर्थिक सहयोगमा धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ ।

संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ लागतमा स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गर्न लागिएको हो ।

अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा पनि प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ ।

संविधान सभाका माननीय सदस्य, खनियाबास गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे  । यो स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने उनले बताए ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन् । 

यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा  नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

No description available.

No description available.

No description available.

No description available.