२८ माघ, काठमाडौं । जापानी स्टार्टअप आर्कएजले निर्माण गरेको सानो क्युबस्याटले पृथ्वीको उच्च गुणस्तरको तस्बिर लिएको छ ।
कम्पनीले शुक्रबार एक ब्लग सार्वजनिक गर्दै स्याटलाइटले खिचेको पृथ्वीको फोटो सार्वजनिक गरेको हो । ‘ओङ्लाइजस्याट’ नामक यस क्युबस्याटमा ताइवानको स्पेस एजेन्सी टासा तयार पारेको अफ–एक्सिस अप्टिकल सिस्टम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा सटीक एटिच्युड कन्ट्रोल, सीएमओएस टीडीआई (टाइम डिले एण्ड इन्टिग्रेसन)इमेज सेन्सर र इमेज कम्प्रेसन हार्डवेयर जडान गरिएको छ ।
यी सबै एउटा डेस्कटप कम्प्युटर वा सुटकेसको आकारको ‘सिक्स यू’ फर्म फ्याक्टरभित्र अटाइएको छ ।यसले पृथ्वीको सतहबाट ४१० किलोमिटर माथिबाट तस्बिर लिएको जनाइएको छ । कम्पनीले सार्वजनिक गरेको ब्ल्याक एन्ड ह्वाइट तस्बिरमा अर्जेन्टिनाको सियाटल नजिकैका भवन र सडक जस्ता क्षेत्रहरू स्पष्ट रूपमा देखिन्छन् ।
यस स्याटलाइटले क्युबस्याटको श्रेणीमा संसारकै सबैभन्दा उच्च रेजोलुसन (स्पष्टता)भएको तस्बिर खिचेको दाबी गरिएको छ ।ओङ्लाइजस्याट मिसनको उद्देश्य कक्षमा अप्टिकल प्रणाली प्रदर्शन गर्ने, टोकियो विश्वविद्यालयको भूमिकामा विकास भएको उचाइ नियन्त्रण प्रणाली परीक्षण गर्ने र टीडीआई र प्रोसेस इमेजहरू प्रमाणित गर्ने थियो ।
यी सबै परीक्षण सफल भएको कम्पनीको भनाइ छ । यो स्याटेलाइट गत नोभेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा पुर्याइएको थियो ।