|  

अर्जुन ट्रफीको उपाधि अत्तरियाको पोल्टामा

२८ माघ, काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सीवाइसी अत्तरियाले आफ्नो पोल्टामा पारेको छ ।

आज धनगढीको फाप्ला मैदानमा भएको फाइनलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि चुमेको हो । फाइनलमा अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । अत्तरियाका शहाव आलम र दिपेश कँडेलले तीन(तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुइ-दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए ।