|  

सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्ः  हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लाग्यो

३० माघ, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् ।

मंगलबार काठमाडौँ जिल्ला अदालका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ।

भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ।’प्रिय विष्णु भन्दै आफ्नो फेसबुक स्ट्याटस सुरु गरेकी उनले वैवाहिक जीवनका अविस्मरणीय पलहरू उल्लेख गरेकी छन्  ।

‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।  तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। तर सम्बन्धविच्छेद रहरले नभई बाध्यतामा भएको उनको भनाइ छ । ‘जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ उनले लेखेकी छन् ।