३० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ ।
मन्त्रालयले ३० वर्षमाथिका एक करोड ४० लाख ९० हजार नागरिकलाई समेट्ने लक्ष्य राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ ।
मन्त्रालयले यो सेवा निःशुल्क दिने बताएको छ । फागुनमा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।