|  

संगीतको शक्ति अपरम्पार छः राष्ट्रपति पौडेल

३० माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् ।

नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान र्पुयाउने स्पष्ट पारे । नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र संगीत भएको उनको भनाई छ । 

राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे । मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने उनको भनाई छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगित पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।