१ फागुन, काठमाडौं । तनहुँको भीमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएको घटना बाहिरिएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी हुन् । आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमान्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन् ।
विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।विद्यालय स्रोतका अनुसार शिक्षिका र बालकहरू छिमेकी हुन् । विद्यालय जाँदा–आउँदा सँगै हुने र बच्चाहरूले लेखापाल श्रेष्ठलाई जिस्क्याउने गर्थे ।
बच्चाहरूले जिस्क्याउँदै ‘काली’, ‘च्याखुरी मिस’ जस्ता शब्दहरू भन्ने गरेको भन्दै उनले घरबाटै पन्यु ल्याएर तताएर डामेको एक शिक्षकले बताए ।अवोध बालकले मुख लगायो, हल्ला गर्यो भनेर पन्यु तताएर गाला डाम्नु बर्बर यातना भएको अभिभावकले बताइरहेका छन् ।