५ फागुन, काठमाडौं । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामका अवैध नीजी अस्पतालको अनुगमनलाई तीव्र पारेका छन् ।
यसै क्रममा आइतबार साँझ मुख्यमन्त्री सिंह जनकपुर मोडल हस्पिटल पुगेका थिए । तर, हस्पिटलमा बाहिरबाटै ताला लागेको थियो । भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो । मुख्यमन्त्री सिंहले स्थानीसँग सोधपुछ गर्न थाले ।
एकजनाले गार्डले हस्पिटलमा ताला लगाएर गएको सुनाए । त्यसपछि वीरेन्द्र नामका ती गार्डको नम्बर खोजेर फोन गरे । मुख्यमन्त्रीले आफू एम्बुलेन्स चालक भएको भन्दै बिरामी लिएर आएको बताए ।फोनमा हस्पिटलका गार्डले अक्मकाउँदै सोधे–तपाईँ को ? मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज भएको बताए ।
मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए– अहिले अनुगमन भइरहेको छ । म बिरामी राख्न सक्दिनँ । गोदावरीमा लग्नुस् ।मुख्यमन्त्री सिंहले गोदावरीले कति दिन्छ ?भनेर कमिशनबारे सोध्छन् । गार्डले भन्छन्– कुरा गरेपछि..।
जनकपुरधाममा अवैध रूपमा संचालित अस्पताल बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत कमिसन दिन्छन् ।
मुख्यमन्त्री सिंह र स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले अहिलेसम्म तीन दर्जन बढी हस्पिटलको अनुगमन गरेका छन् । जसमध्ये मापदण्डविपरीतका ५ अस्पताल बन्द गराइसकिएको छ ।