५ फागुन, काठमाडौं । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेका छन् । कुम्भमेलाबाट फर्किँदै गर्दा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् ।घाइते हुनेहरूमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।
उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको छ । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।