५ फागुन, काठमाडौं । भारतस्थित नेपाली दूतावासले भारतको उडिसास्थित कलिंगा इन्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको निधनको घटनाबारे छानबिन सुरु गरेको जनाएको छ ।
केआईआईटीमा अध्ययनरत प्रकृति लम्सालको आइतबार साँझ शंकास्पद रुपमा निधन भएको थियो । साथै त्यहाँ रहेका अन्य विद्यार्थीहरुलाई समेत होस्टेलले निकालेपछि त्यहाँका विद्यार्थीहरुले विरोध जनाइरहेका छन् ।
उक्त घटनाबारे विश्वविद्यालयका रजिस्टार लगायतका प्रतिनिधिहरुसँग आफूहरुले छलफल गरेको दूतावासले जनाएको छ ।
‘छलफलका क्रममा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध अनुरोध गरेको थियो । त्यसैगरी उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरेको थियो । यस राजदूवतावासबाट अनुरोध भए बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार छात्रावासमा बस्ने व्यवस्था मिलाइ नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले जनाएको छ ।
त्यस्तै उक्त घटनाको विषयमा दूतावासले भारतको केन्द्रीय सरकारदेखि उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसँग निरन्तर सम्पर्क गरिरहेको र मृतकलाई न्याय दिलाउन लागिपरेको समेत जनाएको छ ।