|  

केआइआइटीबाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन मध्यरातमा भारतीय प्रहरी ट्रेन स्टेसन पुग्यो 

६ फागुन, काठमाडौं ।  भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) बाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन भारतीय प्रहरी नै लागिपरेका छन् ।

विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो ।सो कलेजमा अध्ययनरत छात्रा प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरू भएको थियो । घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनरत नेपाली विद्यार्थीहरू जबरजस्ती होस्टलबाट निकालिएका थिए । दिल्लीस्थित नेपाली दूतावासको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति जनाएको छ ।

सार्वजनिक सूचनाअनुसार केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । सोमबार दिउँसो विश्वविद्यालय प्रशासनले दबाब दिएसँगै नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए ।

हाल केही विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् ।यसै क्रममा राती ११ बजे बलेश्वरमार्फत नेपालको यात्रा तय गर्न लागेका विद्यार्थीहरूलाई भारतीय प्रहरीले होस्टेल फर्कन जोडबल गरेका हुन् ।