६ फागुन, काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा नै भारतीय प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।
प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने प्रहरीको भनाइ छ ।
विश्वविद्यालयको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल आइतबार मृत भेटिएकी थिइन् । उनी रुपन्देहीकी हुन् ।