|  

ओडिसाका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

०६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ ।

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा ती एनओसी दिन रोक्ने चेतावनी दिएको हो । उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक  विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय रहेको प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

img180_s6azcvm (1)_page-0001