६ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गरेका छन् । उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनु पर्ने बताएका छन् ।
सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताएका छन् । ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’ उनले भनेका छन्, ‘पक्ष–विपक्षको अहंकार, व्यक्तिगत स्वार्थ र हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
पूर्वराजाले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आर्थिक संकट, जनशक्ति पलायन र राष्ट्रिय पहिचान कमजोर भइरहेको उल्लेख गरेका छन् । ‘नेपालीको पसिना आफ्नै भूमिमा होइन, विदेशमा बगिरहेको छ,’ उनले भने, ‘जन्मँदै नेपाली नागरिक ऋणभारको बोझ बोकेर अघि बढ्न बाध्य छन्, शिक्षालयहरू र व्यापार–व्यवसाय कमजोर बन्दै गएका छन् ।’
शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे । ‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नु पर्छ,’ उनले भनेका छन्, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।’ उनले सबैलाई राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गर्दै सन्देशको अन्त्यमा नेपालका लागि शुभकामना व्यक्त गरेका छन् ।