६ फागुन, काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले ओडिसा राज्य सरकार तथा केआईआईटीसँग निरन्तर समन्वयमा रहेको बताउँदै दोषीमाथि आवश्यक कानुनी कारबाही अघि बढेको जनाएको छ ।
भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाल स्थित भारतीय राजदूतावासले कारबाही प्रक्रिया अघि बढेको जनाएको हो।
दूतावासले घटनामाथि प्रहरीले अनुसन्धान बढाएको, आरोपित विद्यार्थीलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको समेत जनाएको छ । त्यस्तै: विश्वविद्यालयका सुरक्षा गार्डहरूले नेपाली विद्यार्थीहरूमाथि गरेको हातपातसम्बन्धी उजुरीलाई लिएर सुरक्षाकर्मीहरूलाई पनि पक्राउ गरेको जनाएको छ । दूतावासले ओडिसा प्रहरीलाई उद्धृत गर्दै ‘निष्पक्ष, पारदर्शी र न्यायोचित अनुसन्धान गर्ने’ प्रतिबद्धता जनाएको छ ।
त्यस्तै ओडिसा राज्य सरकारले घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी र प्रशासनिक कारबाही गरिने दूतावासले विज्ञप्तिमा भनेको छ ।
विश्वविद्यालयका उपकुलपतिले नेपाली विद्यार्थीहरूसँग माफी माग्दै उनीहरूलाई अध्ययनमा फर्कन आग्रह गरेका छन्। विश्वविद्यालयले ‘साइन डाइ’ आदेश फिर्ता लिँदै नेपाली विद्यार्थीहरूको सहजताका लागि २४ सै घण्टा सञ्चालन हुने हेल्पडेस्क स्थापना गरेको छ ।
ओडिसा प्रहरीले नेपाली विद्यार्थीहरूलाई सहयोगका लागि २४ सै घण्टा सञ्चालन हुने हेल्पलाइन नम्बर (+91-8280338301) उपलब्ध गराएको दूतावासले जनाएको छ।