|  

सरकारी अस्पतालमा सुधारको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

७ फागुन, काठमाडौं ।  जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहको पुतला दहन गरिएको छ।

राष्ट्रिय एकता अभियानले सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा सञ्चालित निजी अस्पतालहरूमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै मंगलबार साँझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको हो । प्रदर्शनकारीहरूले प्रादेशिक अस्पताल अगाडि नै भेला भएर नाराबाजी गरेका थिए ।

अभियानका नेताहरू मनिष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ नागरिकहरू सहभागी रहेको थियो ।उनीहरूले ‘अवैध अस्पताल बन्द गरौँ, सरकारी अस्पताल सुधार गरौँ’ तथा ‘स्टन्टबाजी होइन, स्वास्थ्य सेवामा वास्तविक सुधार चाहिन्छ’ जस्ता नारा लगाउँदै सरकारको आलोचना गरे ।

प्रदर्शनकारीहरूले सरकारलाई अस्पताल सुधारको दायित्वबाट विमुख हुन नदिने भन्दै यदि तत्काल सुधारका कदम नचालिए, अझै सशक्त आन्दोलन गरिने चेतावनी दिएका छन् ।