७ फागुन, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।
मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको हो ।
यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त–सह–सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको छ ।
फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ।