८ फागुन, काठमाडौ । नेपाल प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरूलाई सच्याउन पूर्वप्रहरी उच्च अधिकृतहरूले सबै राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका छन् ।
पूर्वप्रहरी वरिष्ठ अधिकृतहरूले नेपाल प्रहरीको प्रस्तावित विधेयकमा भएका राजनीतिक हस्तक्षेपलाई बढावा दिने किसिमका प्रावधानहरू सच्याउनुपर्ने माग गर्दै सत्तारुढ र विपक्षी दलहरूसँग छलफल गरेका हुन् ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहका अनुसार, बिहीबार नेपाली काँग्रेसको संसदीय दलमा सांसद्हरु छलफल भएको छ । ‘नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माननीयज्यूहरूसँग यसअघि नै छलफल गरिसकेका छौँ’, उनले भने, ‘त्यसक्रममा आज काँग्रेससँग छलफल गरेका हौँ ।’
प्रहरीको ऐनको प्रस्तावित मस्यौदामा रहेको प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण सम्बन्धी व्याख्यात्मक टिप्पणीमा पूर्वप्रहरी अधिकृतहरूको मुख्य असन्तुष्टि छ । यसमा नेपाल प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरीवेक्षण गृह मन्त्रालयले गर्ने भनिएको छ ।
यसले प्रहरीको आइजिपीको अधिकारीलाई खुम्च्याउने उनीहरूको भनाइ छ । जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यका सन्दर्भमा प्रहरी कर्मचारी प्रमुख जिल्ला अधिकारीको नियन्त्रण, निर्देशन तथा सुपरिवेक्षणमा रहने भनिएको छ । यसप्रति पनि अधिकृतहरूको असन्तुष्टि छ ।
अधिकृतहरूका अनुसार, परिचालन र नियन्त्रण पुलिसिङको आधारभूत विषय हो, जसले चेन अफ कमाण्ड कायम गराउन पनि मद्दत गर्छ । तर, विशुद्ध खटनपटनको विषय परिचालनलाई फौजको नेतृत्वबाट बाहिर जान दिँदा त्यसले राम्रो नगर्ने अधिकृतहरूको भनाइ छ ।