|  

लेबनानलाई हराउदै नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

८ फागुन, काठमाडौ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेश गरेको छ।

अन्तिम खेलमा नेपाल र म्यानमार भिड्नुअघि नै नेपाल र म्यानमार दुवै टिमले फाइनलमा स्थान बनाए। म्यानमारले पनि दुवै खेल जितेर फाइनलमा पुग्दा नेपालले लेबनानविरुद्धको दोस्रो खेलमा १-० को जित निकाल्दै लगातार दोस्रो जित हात पार्‍यो।

नेपाललाई अन्तिम खेलअगावै फाइनल पुग्न पहिलो हाफमा भएको एक मात्र गोल निर्णायक बन्यो। नेपालका लागि स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले ४३ औँ मिनेटमा गरेको प्रहार लेबनानकी खेलाडी फराह इल ट्यारमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा दुवै टिमले गतिलो अवसर सिर्जना गर्न नसके पनि अन्तिम समयमा लेबनानको सुन्दर अवसरमा क्रसबार तगारो बन्यो। इन्जुरी समयमा लेबनानी खेलाडीले गरेको उत्कृष्ट प्रहार क्रसबारमा लागेर फर्किँदा लेबनान दुर्भाग्यशाली बनेको थियो।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई तुलनात्मक रुपमा दबाबमा राखे पनि गोल गर्न भने निकै संघर्ष गर्नु परेको थियो। त्यसो त पहिलो हाफमा लेबनानले पनि केही राम्रा अवसरमा गोल गर्न चुक्यो। नेपालकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले केही उतृकृष्ट बचाउहरु गरेकी थिइन्।

अब नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दा फाइनल पनि म्यानमारसँगै खेल्ने छ। यसअघि पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० ले र म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। आजै भएको दोस्रो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ज गरेको छ।