|  

जसपालाई फुटको संघारबाट जोगाइदिएको त्यो बैठक! 

५ चैत्र, काठमाडौँ । आज (विहिबार) पूर्व राष्ट्रिय जनता पार्टी    (जसपा)ले एउटा बैठक बोलायो । नयाँ बानेश्वरको एक वेङ्क्टीमा बैठक बोलाईएको थियो, जहाँ समाजवादी खेमा अर्थात डा.  बाबुराम भट्टराई खेमा सहभागी नहुने घेरा तयार गरिएको     थियो । पूर्व समाजवादी पार्टीले तत्काल सरकारमा जान नसकिने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने एजेण्डा बोकेका छन् । तर पूर्व राजपाका नेताहरु भने आफ्ना सर्त पुरा हुने भए ओलीलाई साथ दिने मनस्थितिमा छन् । त्यसैले आज बैठक बोलाइएको थियो । 

तर, जसपा नेपालको कार्यकारिणीको बैठक बसेको भए आज एउटा दुर्घटना हुन्थ्यो । दुर्घटनालाई रोक्नका लागि सो बैठक स्थगित गरिएको बुझिएको छ । सत्ता समीकरणमा नेपाली काँग्रेस–माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने विवाद झेलिरहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्ष बलियो भएको देखेर बैठक स्थगित गरिएको कार्यकारिणी समितिका एकजना सदस्यले बताए ।


पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले जसपाको सम्पूर्ण माग पुरा गर्न तयार छ, पहिलादेखि नै मधेशको माग पुरा गर्नेमा सकारात्मक थियो, त्यही भएर सो पार्टीलाई सहयोग गर्ने गरी अगाडि बढ्नुपर्ने तर्कसहित अध्यक्ष यादवले कार्यकारिणी समितिमा प्रस्ताव लगेर पास गराउने तयारीमा थिए ।  

उनले विहानको बसेको पदाधिकारी बैठकमा सो प्रस्ताव पास गराउन चाहेका थिए । तर आज विहान बसेको पदाधिकारी बैठकमा पूर्व राजपाका नेताहरुले त्यसलाई अस्वीकार गरेपछि बैठक नै स्थगित भएको हो ।
यता, वरिष्ठ नेता राजेन्द्र महतोले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशको माग पुरा गर्न तयार भएका छन् तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उधारो सहमति गर्न खोजेका हुनाले ओलीसँग नै सहमति गरेर जानुपर्ने कुरा राखेका थिए । 

‘जसपा नेपालको बटमलाइन जसले माग पुरा गर्छ त्यसलाई समर्थन गर्ने हो । ओलीले तत्कालै पुरा गर्न तयार भएका छन्, उहाँले यसपाली नगदमा माग पूरा गर्न तयार भएका छन् । प्रचण्डको सरकार आएपछि पुरा गर्नेछ । सरकार बन्छ कि    बन्दैन ? बनेपछि त्यो माग पुरा गर्छ कि गर्दैन ? त्यसको ठेगान छैन । तर अहिले ओली प्रधानमन्त्री पदमा छन् । उहाँले तुरुन्तै गर्ने भनेको हुनाले जसपाले ओलीको साथमा जाँदा उपयुक्त हुन्छ,’ पदाधिकारी बैठकमा महतोले राखेको धारणा स्रोतले सुनायो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिगमन कार्य गरेको भन्दै त्यसको विरोधमा जसपाले भर्खरै आन्दोलन गरेको थियो । अनि अहिले नै कुन मुखले समर्थन गर्ने भनि अध्यक्ष उपेन्द्र यादवको तर्क रहेको पूर्व राजपा पक्षका एक कार्यकारिणी सदस्यले बताए । 
ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने भन्दै बरु ओलीलाई सरकारबाट कसरी बहिर्गमन गराउनेबारे स्पष्ट धारणा बनाउनुपर्ने यादवले तर्क राखेका थिए । 
अध्यक्ष यादवले सार्वजनिक कार्यक्रम तथा मिडियामा दोहोरो कुरा गर्ने गरेको भन्दै पूर्व राजपाका नेताहरुले प्रश्न उठाएका थिए । ‘मिडियामा जसले आफूहरुको माग पुरा गर्छ त्यसलाई नै समर्थन गर्ने भन्नुहुन्छ । अर्कोतिर ओली प्रतिगमनकारी शक्ति हो समर्थन गर्नुहुँदैन पनि भन्दै आएका छन् यो दोहोरो कुरा भयो,’ स्रोतले भन्यो ।

जसले मधेशको माग पुरा गर्छ त्यसलाई साथ दिने भनेपछि ओलीले माग पुरा गरे भने उनलाई साथ दिने कि नदिने प्रश्न उठेको छ । अध्यक्ष यादवले प्रतिगमन कदम चालेका ओलीलाई साथ दिन सकिँदैन भनि जवाफ फर्काएको स्रोतले जनाएको छ । 

त्यसपछि सत्ता समीकरणबारे एमाले, काँग्रेस र माओवादी केन्द्र मौन रहेको बेला जसपा किन हतार गर्ने बरु बैठक स्थगित गरेर उनीहरुको निर्णयलाई कुरौँ भनि अध्यक्ष महन्थ ठाकुरले प्रस्ताव गरेका थिए । 

स्रोतका अनुसार सत्ता गठबन्धनको बारेमा निर्णय गर्न हतार गर्न नहुने कुरा पूर्व राजपाको तर्फबाट आएको थियो । बरु अझै यसमा छलफल गरौं भन्ने उनीहरुको प्रस्ताव थियो । सो प्रस्तावमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पनि समर्थन जनाएपछि बैठक स्थगित भएको हो । 

‘माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय सर्वसम्मतिले नभए बहुमतबाट गराउने सोच उपेन्द्र यादवको थियो । पदाधिकारी र कार्यकारिणी समितिमा पूर्व समाजवादी पार्टीको बहुमत रहेको   छ । बहुमतबाट निर्णय गराएर अगाडि बढ्ने उनको सोच थियो यदि त्यस्तो गरेको भए आज जसपा नेपालमा दुर्घटना हुन निश्चित थियो,’ एक नेताले भने, ‘जे भयो राम्रै को लागि भयो, अब पुनः त्यसमा छलफल हुन्छ र होलीपछि बैठक बसेर छलफल हुन्छ ।’

यसबीचमा एमालेको माधवकुमार नेपाल पक्ष, माओवादी केन्द्र र काँग्रेसको पनि निर्णय आउन सक्ने जसपाको अनुमान छ । ती दलहरूको निर्णय आइसकेपछि जसपालाई पनि निर्णय गर्न सजिलो हुने पूर्व राजपा निकट नेताहरुको तर्क छ ।