|  

युट्युब गाउँः जहाँ हजारौंले युट्युबबाटै जीवन चलाउँछन !

०९ फागुन, काठमाडौं । कुनै पेसामा लागेर गाउँमा कोही सफल भएको छ भने ती सफल भएका व्यक्तिलाई पछ्याएर त्यस्तै काम गर्ने प्रयास गरिन्छ ।

यस्तै प्रवृत्तिका कारण भारतमा यस्तो गाउँ छ, जहाँ अधिकाशं व्यक्ति युट्युब चलाउँछन । भारतको छत्तिसगढ राज्यको राजधानी राइपुरभन्दा टाढा रहेको तुलसी गाउँ त्यस्तो गाउँ जहाँ हरेकजसो घरका व्यक्तिहरू युट्युबमा जोडिएका छन् । त्यसैले यस गाउँलाई ‘युट्युब गाउँ’ भनेर पनि चिनिन्छ । तुलसीमा करिब चार हजार मानिस बस्छन् । त्यसमा पनि एक हजारभन्दा बढी व्यक्तिहरू कुनै न कुनै रूपमा युट्युबसँग जोडिएका छन । गाउँमा प्रविधि र इन्टरनेटबारे छलफल पनि हुने गरेका छन । गाउँका महिलालाई आफ्नै युट्युब च्यानलबाट पैसा कमाउने अवसर मिलेको छ । गाउँका मानिसहरूका लागि आर्थिक उत्पादनको अवसरसमेत मिलेको बीबीसीले जनाएको छ ।

उक्त गाउँमा युट्युबको क्रेज त्यस समयमा सुरु भयो, जब सन २०१८ मा जय वर्मा र ज्ञानेन्द्र शुक्लाले ‘बीइङ छत्तीसगढिया’ नामको युट्युब च्यानल सुरु गरे । उनीहरूले युट्युबमा राखेको पहिलो र दोस्रो भिडिओले त खासै भ्युज पाएन । तर, तेस्रो भिडिओ भाइरल भइदियो । उनीहरूले युट्युब च्यानल खोलेको केही महिनामा नै एक लाख २५ हजारभन्दा सब्सक्राइबर बटुलिसकेका थिए । २६ करोडभन्दा बढी भ्युज युट्युबमा आइसकेको थियो । 

जय र ज्ञानेन्द्रको यो सफलता देखेर गाउँका अन्य मानिसहरू पनि युट्युबमा सक्रिय हुन थाले । कोरोना महामारीको समयमा गाउँका मानिसहरू युट्युब र टिकटक जस्ता प्लेटफर्महरूमा कन्टेन्ट बनाइरहेका थिए । तर, भारतमा टिकटक प्रतिबन्धित भएपछि उनीहरूले युट्युबलाई नै आफ्ना कन्टेन्ट राख्न मुख्य प्लेटफर्म बनाएका छन् । सन २०२३ सम्म आइपुग्दा त तुलसी गाउँमा युट्युबरहरूको सङ्ख्या निकै बढिसकेको थियो । त्यसपछि राज्य सरकारको तर्फबाट नै गाउँमा रहेका युट्युबरहरूका लागि अत्याधुनिक स्टुडियो स्थापना भयो । यो स्टुडियो निर्माण भएपछि अन्य स्थानीयलाई पनि युट्युबमा सक्रिय हुन प्रेरित र्गयो । छत्तीसगढका पूर्व कलेक्टर सर्वेश्वर भूरेका अनुसार यो स्टुडियोले गाउँ र सहरबीचको डिजिटल ग्यापलाई कम गर्न मद्दत र्गयो ।

तुलसी गाउँका धेरै युवाले युट्युबबाट आफ्नो करिअर बनाएका छन् । २७ वर्षीय पिंकी साहूले युट्युबबाट अभिनय यात्रा सुरु गरेर हालसम्म सात चलचित्रमा अभिनय गरिसकेकी छिन् । यस्तै, आदित्य भगेलले युट्युबमा लेखन र निर्देशन गर्दै फिल्मी उद्योगमा प्रवेश गरे ।

पूर्व सरपञ्च द्रौपदी वैष्णुका अनुसार महिलामाथि हुने विभेद हटाउन पनि युट्युब सहयोगी सिद्ध भएको छ । महिलाहरू आफैँले युट्युब भिडिओमार्फत महिलाका अधिकारबारे सचेतना फैलाउने भिडिओ बनाउने गरेका छन । महिलाहरू आफैंले कमाउन सक्ने हुँदा आत्मनिर्भरसमेत बनेका छन ।