|  

‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक, फागुन २३ गते रिलिज हुने

९ फागुन, काठमाडौं ।  नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको हो।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ।

चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरेको छ। शाहिल खानले सम्पादन गरेको चलचित्रको ट्रेलरमा जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ।

यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन्।

‘होस्टेल’को अघिल्लो शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए। अब, ‘होस्टेल ३’ ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ।