०९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब कांग्रेसले मुलुकको आर्थिक अवस्था सुधार गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । विगतमा कांग्रेस नेतृत्वको सरकारले औद्योगिक विकास फराकिलो बनाउँदै लगेको दाबी गर्दै खड्काले अहिले देखापरेको आर्थिक समस्यालाई पनि अब कांग्रेसले नै सुधार गर्ने बताए । उनले मुलुक अप्ठ्यारोमा परेको बेला कांग्रेसले नै काँध थाप्दै आएको समेत जिकिर गरे ।
कांग्रेसकै कारण विगतमा आर्थिक सुधार भएको भन्दै उनले अहिले पनि केही चुनौतीहरू देखापरेकोले यसलाई पनि कांग्रेसले नै सुधार गर्ने दाबी गरे । कांग्रेसले विगतमा गरेका काम, भावी योजना र पार्टीको नीति विकास निर्माण केन्द्रित रहेको उल्लेख गर्दै यसलाई जनतामाझ र्पुयाएर केही द्विविधाहरू भए त्यसलाई चिरेर सबैको विश्वास जित्नुपर्ने खड्काले बताए ।