०९ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गरेका छन् ।
हेटौंडामा आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराजाको आह्वानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको भन्दै आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने बताए । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको जानकारी दिँदै अध्यक्ष थापाले उनको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको प्रष्ट पारे ।
उनले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरूमा निराशा पैदा भएको बताए । पूर्वराजालाई दोषी देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि अध्यक्ष थापाले राजनीतिक दलहरूलाई चेतावनी दिए । संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको एजेण्डा पूरा हुने चरणमा रहेको उनको भनाई छ ।