|  

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाल सरकारसँग निरन्तर सम्पर्कमा छौँ 

९ फागुन, काठमाडौं । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले  ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दु्ःख व्यक्त गरेको छ ।

जयसवालले पत्रकार सम्मेलनमा भुवनेश्वरको केआईआइटी विश्वविद्यालमा भएको नेपाली छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।घटनाका विषयमा नेपाल सरकारसँग निरन्तर सम्पर्क गरिरहेको उनले बताए ।

नेपाली विद्यार्थीको सुरक्षा र भलाइका लागि आवश्यक पर्ने सबै काम गर्न भारत सरकार गरिरहेको पनि उनले बताए । ओडिसा सरकारले केआईआईटीमा भएको घटनाका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति बनाइसकेको र त्यो समितिको प्रतिवेदनका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज र होस्टलमा फर्काउने काम गरिरहेको बताउँदै उनले भने, ‘नेपाली विद्यार्थीका लागि चौबीसै घण्टा सक्रिय रहनेगरी प्रहरी हटलाइन नम्बर पनि जारी गरिएको छ ।’

४ फागुनमा केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीले छानबिनको माग गर्दै आन्दोलन गरेका थिए । 

प्रशासनले नेपाली विद्यार्थीलाई कलेज र होस्टलबाट निकाला गरेर रातारात रेलवे स्टेसन पुर्‍याएको थियो ।