|  

नेताहरू कर्तव्यबाट भागेर पदको लडाईँमा मात्रै लाग्न हुँदैनः एनपी साउद

१० फागुन, काठमाडौ. । नेपाली कांग्रेसका नेता एनपी साउदले अधिवेशन गरेर भ्रातृ संगठनहरूलाई गतिशील बनाउने कर्तव्य पार्टीको जिम्मेवारीमा रहेका नेताहरूको भएको बताएका छन् ।

मोरङको विराटनगरमा आज आयोजित नेपाल भूतपूर्व सैनिक संघको कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन समारोहमा उनले जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाईँमा मात्रै लाग्न नहुने बताए । केन्द्रीय सदस्य साउदले भने, ‘पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने, गतिशील बनाउने कुरा पार्टीको जिम्मेवारीमा रहेका मान्छेहरूको कर्तव्य हो । त्यो कर्तव्यबाट भागेर पदको लडाईँमा मात्रै पार्टीलाई लैजानु हुन्न ।’

पूर्वपरराष्ट्रमन्त्री साउदले एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रुपमा लैजान सकेमात्रै कांग्रेस अगाडि बढ्न सक्ने पनि बताए । उनले सत्ता साझेदार दलहरू कांग्रेस र एमालेमध्ये जो जनताका बीचमा गएको छ उसैले आगामी निर्वाचन जित्ने पनि बताए । उनले कांग्रेसले वैचारिक र सांगठनिक अस्तित्वसँगै कार्यसम्पादनको विशिष्ठतालाई जोगाएर अगाडि बढ्नु पर्छ भन्दा पार्टीकै नेताहरूले चित्त दुखाएको गुनासो समेत गरे ।