१० फागुन, काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक बृद्ध दम्पत्ती मृत फेला परेका छन्। बङ्गलाचुली नजिकै रातापानी लेकस्थित एक घरका दम्पत्ती मृत फेला परेका हुन्।
६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए। दुवैको टाउकोमा चोट देखिएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली खटिएको प्रहरी निरीक्षक रिजालले बताए।
घटनाको थप अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याइदै छ। प्रहरीलाई आज दिउँसो साढे १२ बजे मात्र घटनाको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रिजालले बताए।