|  

राजेन्द्र महतोलाई ताप्लेजुङमा देखाइयो कालो झण्डा 

१० फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीयले कालो झण्डा देखाएका छन् । ‘नो केबुलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबुलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको आरोप छ ।

महतो ‘नो केबुलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बूले बताए ।

लिम्बूले ताप्लेजुङका नागरिक विकास र केबुलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।