|  

अब कर्मचारीलाई ट्वाइलेट जान जम्मा २ मिनेट, पटक-पटक गए तलब काटिने !

११ फागुन, काठडाडौं । चीनमा एक कम्पनीले यस्तो नियम बनाएको छ, जो कर्मचारीका लागि निकै निरंकुश तथा अनुपयुक्त मात्र होइन अमानवीय पनि देखिन्छ ।

सो कम्पनीले आफ्ना कर्मचारीका लागि ट्वाइलेट नियम बनाएको छ जसमा ट्वाइलेट जानका लागि निश्चित समय तय गरिएको छ । त्यसभन्दा धेरै पटक ट्वाइलेट गएमा सम्बन्धित कर्मचारीमाथि जरिवाना हुनेछ र तलब कटौती गरिनेछ । व्यापक आलोचनाका कारण यो नियम कार्यान्वयन धेरै दिन भने टिकेन ।कम्पनीका अनुसार उक्त नीति प्राचीन चिनियाँ चिकित्सा शास्त्र अनुरुप छ ।

गुआंडोंग प्रान्तको फोसानमा रहेको थ्री ब्रदर्श मेसिन म्यानुफ्याक्चरिङ कम्पनीले गत फेब्रुअरी ११ मा कर्मचारीको ट्वाइलेट प्रयोग सम्बन्धी उक्त नियम लागु गरेको हो । कार्यालयको व्यवस्थापनलाई चुस्त बनाउनु, दक्षता बढाउनु तथा कार्यस्थलको दृष्टिकोणमा सुधार ल्याउनु उक्त नियमको उद्देश्य छ ।
कम्पनीको नियम अनुसार कर्मचारीहरुका लागि बिहान ८ बजेभन्दा अघि, बिहान साडे १० देखि १०ः४० बजेसम्म, दिउँसो १२ देखि १ः३० को बीच, अपरान्ह साडे ३ देखि ३ः४० सम्म र बेलुकी साडे ५ देखि ६बजेसम्म शौचालय प्रयोग गर्ने अनुमति रहेको छ ।

ओभरटाइम सिफ्टमा काम गर्ने कर्मचारीहरुका लागि रातको ९ बजेपछि पनि ट्वाइलेट सुविधाको प्रयोग गर्ने अनुमति छ । अन्य अवधिमा यदि कर्मचारीहरुलाई आकस्मिक रुपमा शौचालय जानुपर्यो भने पनि उनीहरु जान त पाउँछन् तर उनीहरुले फटाफट २ मिनेट भित्रमा शौच गरेर फर्किसक्नुपर्नेछ । कम्पनीले बिहान र दिउँसोको केही समय शौचालयको प्रयोगमा सख्त प्रतिबन्ध लगाएको छ, जसमा ओभरटाइम सिफ्ट पनि रहेको छ ।

जो कर्मचारीहरुलाई विशेष शारीरिक समस्याका कारण छिटो छिटो शौचालय जानुपर्छ उनीहरुले हाकिमसँग त्यसका लागि अनुमति लिन सक्दछन् । तर त्यसरी पटक पटक ट्वाइलेट जाँदा बिताएको समयका लागि उनीहरुको तलब कटौती गरिनेछ ।