|  

ओलीजस्तो मेहनति मान्छे संसारमै छैनन्ः राधिका शाक्य

११ फागुन, काठडाडौं । लेखक तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय रूपमा खट्ने मान्छेका बारेमा अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताएकी छन् ।

उनले होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् । ओलीलाई कतिपयले अल्छी भन्ने, एताको सिन्को उता नसार्ने भनेर कमेन्ट गरेको आफूले पनि सुनेको भन्दै उनले भनिन्, ‘मलाई भन्न मन लागेको छ। हिजो बिहानदेखि आज बिहान साढे चार बजेसम्म उहाँ काम गरिरहनु भएको थियो । उहाँ कोठामा आउँदा साढे चार बज्यो, सायद सुत्दा बिहान पाँच बजेको थियो होला। उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ?’

उनले ओलीजस्तो मेहनति मान्छे संसारमै नभएको बताइन् । ‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैनन् होला। उहाँको जीवनको आधाआधी समय  एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि ! मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ,’ उनले भनिन्।