|  

जब मदिराले मातेका बेहुलाले बेहुलीको सट्टा साथीलाई वरमाला लगाइदिए.....

१३ फागुन, काठमाडौं ।  भारतको उत्तर प्रदेशस्थित बरेलीमा एक दुलाहले मदिरा सेवन गरेर मण्डपमै पुगेपछि हंगामा भएको छ ।

मदिराले मातेका बेहुलाले केटीको सट्टा साथीलाई वरमाला लगाइदिएपछि बिहे नै रद्द भएको छ । दुलहीले सबैको अगाडि थप्पड हानेर बिहे गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । घटनाले उग्र रूप लिएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । घटना बरेलीको क्लोडिया थाना क्षेत्रको बरखेडा गाउँमा भएको हो ।

गत आइतबार रविन्द्र कुमारले आफ्नो विवाहमा धेरै रक्सी पिएका थिए । जब वरमालाको समय आयो, रविन्द्र साथीहरूसँग स्टेजमा पुगे। उता दुलही पनि साथीहरूसँग स्टेजमा पुगेकी थिइन् । तर माला लगाउने पालो आउँदा रविन्द्रले रक्सीले मातेर आफ्नै साथीलाई माला लगाइदिए ।

यो देखेर दुलहीले रिसाएर मञ्चमै थप्पड हानेकी थिइन् । उनले पनि बिहे गर्न अस्वीकार गरिन् । यसपछि दुलहा र दुलहीका परिवारबीच झगडा शुरू भएको थियो ।  केही समयपछि विवाद झडपमा परिणत भयो ।

विवाहको जन्ती र बेहुली पक्षका मानिसहरूले एकअर्कालाई कुर्सी हान्न थाले। खाना पनि फालियो । स्थिति तनावपूर्ण बनेको देखेर प्रहरी बोलाइएको थियो ।त्यसपछि प्रहरीले बेहुलालाई नियन्त्रणमा लिएको थियो ।