|  

मुलुकमा असाधारण विकास हुँदै गएकाले युवा निराश हुनुपर्दैनः प्रधानमन्त्री ओली

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवा निराश हुनु नपर्ने बताएका छन् । 

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले सरकारले केही गरेन भन्न नमिल्ने जिकिर पनि गरे । सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभएर सोच-विचार गरेर काम गरिरहेको भन्दै प्रधानमन्त्रीले यो यात्रामा जनताले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए ।  आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गर्दै ओलीले यस बीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए ।