१३ फागुन, काठमाडौं । फिल्म ‘लाज शरणम’ को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ ।
हिजो साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो आज दिउँसो नै हाउसफुल भइसकेका छन । अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन्। तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन । यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ ।
यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो । यस फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । कुमार कट्टेलले निर्देशन र लेखन रहेको फिल्ममा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।