|  

वायुसेवा निगमको ३ वटा विमानमा समस्या

१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको चार वटा विमानमध्ये ३ वटा विमानमा समस्या आएको छ ।

जसमध्ये एउटा वाइडबडी विमान आजै मर्मत भएर अन्तर्राष्ट्रिय उडान गर्ने र अन्य दुईवटा न्यारोबडीको उडान समय भने निश्चित नभएको निगमले जनाएको छ । निगमले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९ एन-एलजेड वाइडबडीले अहिले नियमित उडान गरिरहेको छ भने अर्को ९ एन-एएलवाई को लागि आवश्यक पर्ने पाटपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मतपश्चाात आजै दिल्ली उडान गर्नेछ ।

तर, न्यारोबडी अन्तर्गतको ९एन-एकेडब्लु विमान चिनमा फाइभसी-चेक पश्चात भन्सार क्लियरेन्स प्रक्रियामा समस्या सिर्जना भएकाले आउन ढिला भएको र मार्च १ सम्म काठमाडौं आइपुग्ने निगमले जनाएको छ । सो विमान त्यसपश्चात नियमित उडानमा जाने निगमको विज्ञप्तिमा उल्लेख छ । अर्को न्यारोबडी ९एन-एकेएक्स को नोज ल्यान्डिङ गियरमा समस्या भएको र मर्मतका लागि दिल्ली लैजानुपर्ने आवश्यकता रहेको निगमले जनाएको छ । अन्य साना २ वटा ट्वीनअटर विमानमा पनि प्राविधिक समस्या रहेकाले मर्मतको काम सकिएपछि नियमित उडानमा जाने निगमले जानकारी दिएको छ ।