१५ माघ, काठमाडौं । पूर्वी नवलपरासीमा ८६ जना सहिद परिवारलाई सम्मान गरिएको छ ।
द्वन्द्व पीडित महिला सञ्जाल पूर्वी नवलपरासीले २०५२ साल फागुन १५ गते सहिद भएकाहरूको सम्झनामा उनीहरुलाई सम्मान गरेको हो । द्वन्द्वबाट पीडित तथा प्रभावित महिला, बालिका तथा सहिद परिवारले आत्मसम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण सुनिश्चित गर्न र निर्णय प्रक्रियामा सहभागिता गराउन राज्यले अझै पनि नसकेको द्वन्द्व पीडित महिला सञ्जाल पूर्वी नवलपरासीका अध्यक्ष पार्वती सिग्देलले बताएकी छन् ।
जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माले देश निमार्णको लागि बलिदानी दिने सहिदको सम्झनामा एक दिन मात्र सम्झनेभन्दा पनि उनीहरूको परिवारको हकहितका लागि बनेका कानुनको अक्षरशः पालनामा राज्यले ध्यान दिनुपर्ने बताए । सञ्जालको तथ्यांक अनुसार जिल्लामा ३ सय ४ परिवार द्वन्द्व पीडित छन । द्वन्द्वका क्रममा मृत्यु भएका १ सय २ जना र २९ जना बेपत्ता रहेका छन ।