|  

उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी

१६ फागुन, काठमाडौं ।  उत्तर कोरियाले रुसमा युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी गरिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले रुसमा थप सेना पठाएको दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार जनाएको हो । युक्रेनविरुद्धको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि थप सेना पठाइएको दाबी गरिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । एनआईएसले रुसको कुर्स्क क्षेत्रमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि बताएको छ ।

पश्चिमी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजार भन्दा बढी सेना तैनाथ गरेको दाबी गरेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको सिकार भएको दाबी गरिएको छ ।