१६ फागुन, काठमाडौं । गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक समारोह आयोजना भएको थियो ।
उक्त गीत सार्वजनिक कार्यक्रममा भूकम्पको चर्चा भएको थियो ।कारण– यस फिल्मको पहिलो श्रृङ्खला ‘रेशम फिलिली’ प्रदर्शनमा आएको भोलिपल्ट नेपालमा महाभूकम्प गएको थियो । यो वि.सं २०७२ वैशाखको कुरा हो । पहिलो श्रृङ्खलका प्रदर्शनमा आएको भोलिपल्ट ७ दशमलव ९ म्याग्निच्युटको महाभूकम्प गयो ।
उक्त महाभूकम्पले यस फिल्मको व्यापारमा पनि प्रभाव पारेको थियो । फिल्मीवृत्तमा ‘रेशम फिलिली’ले भूकम्प ल्याउँछ भन्ने ठट्यौली चर्चित छ । ‘फेरि रेशम फिलिली’ कुरा हुँदा फिल्मीवृतमा अधिकांशले भन्ने गर्थे, ‘फेरि भूकम्प आउने हो कि ?’यस फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि त्यही भयो ।
फिल्मका नायक विनय श्रेष्ठलाई सोधिएको थियो, ‘फेरि यो फिल्मले भूकम्प त ल्याउदैन?’ विनयको जवाफ थियो, ‘नो कमेन्ट’ । तर, संयोग भने कुनै बेला रोचक पर्न जान्छ । रेमश फिलिलीको हकमा भूकम्पको संयोग पर्ने गरेको छ ।
अहिले दोस्रो श्रृङ्खला प्रदर्शनमा आएको पर्सिपल्ट ६ दशमलव १ म्याग्निच्युट भूकम्प गयो । आज बिहान अर्थात् शुक्रबार गएको भूकम्पलाई फिल्मसँग जोडेर सामाजिक सञ्जालमा रमाइला टिप्पणी सुरु भएका छन् । केही कलाकारले समेत यो संयोगलाई लिएर प्रतिक्रिया दिएका छन् ।