१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।
सक्कली मधेसवादी दल माओवादी मात्रै भएको दाबी गर्दै उनले यस्तो धारणा राखेका हुन् । मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए । आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभइ प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।
मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै उनले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने १ हजार ३ सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे । संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामांकरण पहिचानबाट भएकोमा गर्व महशुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरू गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे । नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उनले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिए । मधेसमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण,शिक्षा,स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।