१६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश पारित भए जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका हुन । उनले सरकारले देशलाई मरूभूमिकरण गर्ने कानून ल्याउने काम गरेको आरोप समेत लगाए ।
उनले भनेका छन्,‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ ।’
उनले अध्यादेश पास भएमा सुकुम्बासीको नाममा भूमाफिया, बिचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्बासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा सुरू हुने जिकिर गरे । उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानूनको रूप लिए त्यस्तो सहायता समेत रोकिने बताए ।