|  

भारतको उत्तराखण्डमा हिमपहिरोमा परी ४१ कामदार बेपत्ता

१६ फागुन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित चमोलीको मानामा सडक निर्माणमा संलग्न ५७ जना कामदार हिमपहिरोमा फसेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता छन । आज दिउँसो बद्रीनाथ धामअगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । त्यस स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू खटिएका बेला घटना भएको बताइएको छ ।

अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको छ । खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।